Image

 

डेढ दशकदेखि पत्रकारिता तथा विकास सञ्चार क्षेत्रमा सक्रिय लक्ष्मणदत्त पन्त सञ्चार विज्ञ तथा पत्रकारिता विषयको प्राध्यापनमा संलग्न राष्ट्रिय ब्यक्तित्व हुनुहुन्छ । रेडियोबाट पत्रकारिता शुरु गर्नुभएका पन्तले टेलिभिजन, अनलाइन तथा अखबारमा नेतृत्वदायी भूमिकामा काम गरिसक्नु भएको छ । ढाका विश्वविद्यालय, बङ्गलादेश तथा काठमाण्डौं विश्वविद्यालयमा पत्रकारिताको प्राध्यापनमा संलग्न भइसक्नुभएका पन्त हाल संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) अर्न्तर्गत स्थानीय शासन तथा सामुदायिक कार्यक्रम (LGCDP) मा सञ्चार विज्ञको रूपमा कार्यरत हुनुहुन्छ । आमसञ्चार तथा पत्रकारिता विषयका  आधा दर्जन पुस्तकका लेखक पन्तका मिडिया सम्बन्धि करिब एक दर्जन अनुसन्धानमुलक लेख तथा एक हजारभन्दा बढी विचारप्रधान लेखहरू प्रकाशित छन् । पन्तले नेपाल सरकारका विकाससम्बन्धि विभिन्न कार्यक्रम, परियोजना तथा अन्तराष्ट्रिय दातृसंस्थाहरू सलग्न कार्यक्रमको सञ्चार रणनीति र मिडिया अभियान नीति निर्माणको क्षेत्रमा महत्वपर्ण योगदान पूर्‍याइसक्नुभएको छ । मिडिया स्टडिजका प्राध्यापक तथा सञ्चार बिज्ञ पन्तसँग “द एक्सक्लुसिभ” का संबाददाता जिवेश झाले गर्नु भएको कुराकानी:

१।अहिले नेपाली प्रेस स्वतन्त्रताको हिसाबमा कस्तो अवस्थामा छ? के नेपाली पत्रकारिता अंतर्राष्ट्रिय स्तरको छ त?

नेपालको प्रेस स्वतन्त्रताबारे नेपालमा कस्तो किसिमको संबैधानिक प्राबधान छ भन्ने कुराले निर्धारण गर्छ।नेपालको संबैधानिक अधिकारको प्रत्याभुतीलाई हेर्ने हो भने त विश्वका उत्कृस्ट देशहरु झै हाम्रो संबैधानिक अधिकारको प्रत्याभुती पर्छ तर प्रेस स्वतन्त्रताको कुरालाई नेपालमा पत्रकारहरुले चाँहि अलिकता सहि रुपले सदुपयोग गरिरहेको जस्तो मलाई लाग्दैन।नेपालको संबिधान, नेपाल पक्षले गरेको अन्तर्राष्ट्रिय अभिसन्धी,र अन्तर्राष्ट्रिय कानुन भित्र बसेर आफ्नै आचार संहिताको पालना नगरेको र कतिपय अबस्थामा देशलाई हानी पुग्न सक्ने बिषयबस्तुमा सचेत नभएको देखिन्छ।पछिल्लो समयमा पत्रकारले आफ्नो अधिकारको खोजी बढि गरेको तर सो अनुरुप कर्त्वय नगरेको देखिन्छ।संबैधानिक अधिकारको प्रत्याभुति त्यति हद सम्म नभएको देख्दछु।

 

२। नेपाली विश्वविद्यालयको पत्रकारिता बिषयको पाठ्यक्रम र बाहिरका विश्वविद्यालयका पाठ्यक्रममा कस्तो भिन्नता पाउनुहुन्छ? नेपालका पाठ्यक्रम सिद्धान्तमुखि भए, व्यवहारिक भएन्न, भन्ने आरोप कतिको तार्किक हो?

धेरै फरक छ।नेपालको पत्रकारिताको कोर्स पत्रकारितामा मात्र सीमित छ, हामी कहाँ बिकल्प (अपसन)हरु छैन्न, “अलटरनेटिभ” बिषयहरु छैन्न।पत्रकारिता भने पछि खाली अखबारको पत्रकारिता अनि नीति शास्त्र, कानुनका कुरामा मात्र सीमित छ।सिद्धान्तमुखि भन्दा पनि नेपालका विश्वविद्यालयका बिभागहरुले यो कोर्समा लगानी गर्न नसकेको हो, पछिल्लो समयमा नीजि क्षत्रबाट खुलेका विश्वविद्यालयको पहल राम्रो मान्न सकिन्छ।तर अब चाँहि पत्रकारिता पढाउने विश्वविद्यालय वा बिभागहरुले पुर्वाधारहरु थप्दै जानु पर्यो र व्यबहारिक रुपमा बिद्यार्थीलाई सञ्चारबिज्ञ वा पत्रकार बन्न राम्रो बाताबरण तयार गर्दिनु पर्यो।कोर्सलाई नै दोष दिन मिल्दैन।

३। नेपालको पत्रकारिता बिषयको पाठ्यक्रम कतिको समावेशी छ? मिडियाका पाठ्यक्रममा महिलाले समान  स्थान पाएन्न भन्ने वकालत गर्न पछि नहटने तपाई जस्ता प्राध्यापकले अब मधेशको कला, सँस्कृति, र सञचार प्रक्रियालाई स्थान दिनु पर्छ है भन्ने आबाज उठाउने बेला आएन्न त?

पाठ्यक्रम समाबेशी बन्दै गएको छ।कोर्समा महिला, दलित, र अरु सिमान्तकृत समुदायका मुद्धाहरुलाई पनि छुट्टै बिषयको रुपमा नभए पनि अध्यायहरुको रुपमा चाँहि समावेश गरिएको छ।स्नातक र स्नातकोत्तर तहमा “जेन्डर एन्ड मिडिया” भन्ने भन्ने कोर्समा महिलाका एजेन्डा, , पहिलो पटक आफ्नो पहिचान खोजिरहेका कतिपय समुदायहरुको एजेन्डा र त्यसमा मिडियाको भुमिका कस्तो रहने जस्तो किसिमको अध्यायहरु संलग्न चाँहि गरिएको छ।तर छट्टै बिषयको रुपमा सबैको समाबेशी हुने कोर्स चाँहि बन्या छैन।त्यसका लागि निश्चित साधन स्रोत र दक्ष जनशक्ति चाँहिन्छ, जसको अभाव छ नेपालमा।पत्रकारिता बिषय समाबेशी तर्फ उन्मुख छ।देश समाबेशिकरणको मोडबाट गुज्री रहेको अबस्थमा पत्रकारिताका कोर्सहरु पुर्ण रुपमा “अपडेट” र समाबेशी हुन सकिरहेको छैन, जसका बिबिध कारणहरु छन्।समग्रतामा भन्दा हिजो भन्दा आज नेपालको समग्र मिडिया र पाठ्यक्रम समाबेशी भएको चाँहि देख्दछु।

४। नेपालमा मिडिया अनुसन्धानको अभ्यास कसरी भईरहेछ?

मिडिया अनुसँधानका कुराहरु धेरै जसो फछिल्लो पटक संस्थागत र व्यक्तिगत हिसाबबाट अगाडि बढेको देखिन्छ।नीजि क्षेत्रबाट खुलेका केहि संस्थाहरुले संस्थागत रुपमा मिडियासँग सम्बन्धित बिभिन्न बिद्याहरुमा शोध गराई रहेको देखिन्छ। मिडियाका स्नातक र स्नातकोत्तर तहका बिद्यार्थीहरुले पनि विश्वबिद्यालयको लागि र नीजि संस्थाको ग्रान्ट पाएर मिडियासँग संबन्धित बिभिन्न शोधहरु गरिरहेका छन्।मिडियाको बिभिन्न पक्षहरु जस्तै मिडियाको शक्ति र भुमिका, अखबारमा महिलाका, दलितका  वा मधेशका  एजेन्डाहरु कसरी र कस्ता  आँउछन्, जस्ता क्षेत्रहरमा “कन्टेन्ट एनालाईसिस” मा सीमित रहयो,  यी मुद्धाहरुमा “डिसक्रिपटिभ एनालिटिकल रिसर्च” गरे बढि सान्दर्भिक हुन्थ्यो।अर्को तर्फ शक्तिको अभ्यास मिडियाले कसरी गरिरहेको छ भन्ने कुराको सुक्ष्म अध्ययनहरु गरिए राज्यको चौथो अङ्गको मान्यता पाएको मिडियाको भुमिकाबारे स्पस्ट जानकारी आउथ्यो।पछिल्लो पटक सञ्चारको सिद्धान्तहरुमा शोधहरु भएका छन्।तर “एप्लाईड” शोधहरु त्यति नभएको अवस्था छ।हामी जस्ता प्राज्ञिक क्षेत्रमा लागेका व्यक्तिहरुले एम.फिल., पी.एच.डी. स्तरमा “कन्टेन्ट एनालाईसिस” भन्दा केहि पृथक खाले अनुसँधान गरिरहेका छौं।समाजमा मिडिया अनुसँधानको उल्लेखनिय भुमिका छ र अबका बिद्यार्थीले पत्रकारिता पढेपछि पत्रकारितामा मात्र आफ्नो भविष्य नदेखि अनुसँधान तिर पनि लाग्नु पर्यो।

वर्तमानमा युवाहरुले मिडियामा “पब्लीसिटी”, र “ग्लामर”को लागि जाने गरेका छन्। मिडिया अनुसन्धानतिर युवा पीढि आकर्सित हुनु पर्यो, उनिहरुलाई “मोटिभेट” गरिदिने काम विध्वविद्यालय र शैक्षिक सँस्थाहरुले गरिदिए युवाहरु अनुसन्धानतिर उत्साहित हुन्छन्।

४। नेपाली मिडियाका क्षेत्रमा हुने अनुसन्धान काठमान्डु केन्द्रित हुनु वा पहाड केन्द्रित हुनु कतिको जायज हो? के मधेश अनुसन्धानको लागि फर्टाईल ठाँउ होईन? पत्रकारिता बिषयका पुस्तकहरुमा पनि मधेशका कला, सँस्कृति, सञचार प्रक्रिया र भाषालाई सुन्य स्थान दिईएको हुन्छ, तपाईं लेखकहरु यति पुर्वाग्रहि किन भएको? 

जायज त होईन।तपाईले भन्या जस्तो अब ठ्याक्कै पुर्वाग्रहि भन्ने त  होईन तर तपाईले भन्या एउटा कुरा के सत्य हो भने पछिल्लो समयमा मिडिया अनुसन्धानहरु “एक्याडेमिक लोकेसन” मै गरियो।“एक्याडेमिक लोकेसन” मा बिद्यार्थी र प्राध्यापकहरुले आफ्नो सजिलो हेर्छन्, त्यसैले समस्या त्याँहा आएको हो। अब अनुसन्धान बिकासमा चाँहि सरकार, सम्बन्धित संस्था, सञ्चार मन्त्रालय, तथा अरु व्यवसायिक सँघसंस्थाहरुले संस्थागत रुपमा बिश्वास गर्ने भनेर त्यो किसिमको नीति ल्याउनु पर्यो।त्यस्तो नीति ल्याईयो भने भोली मधेशका एजेन्डा र पहाडका एजेन्डा दुबै समान रुपले अघि बढ्छ।बिभिन्न समाबेशी, जनजाती, धर्म , भाषालाई मिडियासँग “रिलेट” गरे शोध गरे यो क्षेत्र पनि फडाकिलो बन्दै जान्छ।लेखकहरुले “ईन्टेन्सनली” पुर्वाग्रही भएका होईन्न।अज्ञानका कारण बिभिन्न समुदायहरुलाई मिडियका पुस्तकमा गरिएको शब्द चयनका कारणले कहि कसैलाई ठोस पुगि राख्या चाँहि हुनसक्छ। अब तपाई जस्ता मिडियाका बिद्यार्थी र हामी सबै प्राध्यापन क्षेत्रमा लागेका व्यक्तिहरुले एकजुट भएर अध्ययन-अनुसँधानमा लागे मधेशका सबालहरुलाई पनि सम्बोधन गर्न सहज हुन्छ।मधेशका युवाहरुको क्षमता अभिबृद्धी गर्ने तर्फ काम हुनु पर्यो र अनुसँधानमा लाग्न प्रेरित गरिनु पर्यो।साथै मधेशका मिडियाहरुले पनि मधेशका सवालहरुलाई उठाउनु पर्यो।

५।जनशक्ति, प्रविधि र भौतिक साधनका हिसाबले नेपालको पत्रकारिता अध्ययन-अध्यापन कस्तो अवस्थामा छ?

सैद्धान्तिक कुरामै बढि केन्द्रित छ।पुर्वाधार र प्रबिधिको क्षेत्रमा लगानी गर्न सकिरहेको छैन।बिद्यार्थी तान्न सक्ने कोर्स चाँहि बन्यो तर शैक्षिक संस्थाहरुले भौतिक पुर्वाधार जुटाउनका लागि त्यस अनुरुप लगानी गर्न सकिरहेको छैन।मिडिया उद्योगहरसँग एक कसिसिमको “कोल्याबोरेसन” पनि गर्न सकि रहेको छैन।बिद्यार्थीलाई व्यबहारिक रुपमा काम गराउनका लागि मिडियाका आउटलेटहरुसँग एम.ओ.यु. गर्ने तर्फ ध्यान अझै गएको छैन।यदि सँचै मिडियको कोर्सलाई उत्पादनमुलक बनाउने र जनशक्तिलाई खपत गराउन चाहने हो भने प्रशस्तै लगानी गर्नु पर्छ।

५। पत्रकार बन्नका लागि पत्रकारिता बिषयको डिग्री हाशिल गरेको हुनुपर्ने वकालत तपाईहरु किन गरि रहनु भएको छ?

व्यवसाय भन्ने हो भने डिग्री हाशिल गरेको हुनुपर्यो, तर होईन रुचि र साहित्यमा सीमित राख्ने हो भने मेरो भन्नु केहि छैन्।पत्रकारितालाई व्यवसायिक बनाउनका लागि पत्रकारिता शिक्षाको अध्ययन चाहिन्छ।कोर्स पढे पत्रकारिताको नीति, ज्ञान,शिप,  प्रबिधि, लेखन शैली  र एउटा त्यो किसिमको कानुनी कुरा थाहा पाईसके पछि, त्यो पत्रकारले समाजप्रतीको उत्तरदायित्व बिर्सिदैन र अहिलेको जस्तो धेरै मान्छेले कम विश्वास गर्ने पेसाको रुपमा पत्रकारिता रहिरहदैन, यदि पढेलेखेका र तालिम प्राप्त पत्रकारहरुलाई मात्र यो क्षेत्रमा प्रवेश गराउने हो भने। सिपालु पत्रकार बन्नका लागि विश्वविद्यालय स्तरको अध्ययन आवश्यक छ।तालिमले मात्र पुदैन। तालिम त क्षमता अभिबृद्धिका लागि बिभिन्न संस्थाहरुले बेलाबखतमा ल्याई राख्छन। पत्रकार बन्नका लागि कम्तीमा पत्रकारिता बिषयमा स्नातक तह सम्मको अध्ययन चाहियो।स्नातोकोत्तर नै चाँहि चाहिदैन, सन्तकोत्तर डिग्री पढे फछि अनुसन्धान, नीति निर्माण तर्फ जाने हो, तर ज्ञान, शिप हाँसिल गर्नका लागि प्रवेशिका पछिको पाँच बर्षे पत्रकारिता बिषयको अध्ययन पत्रकारले गरेको हुनु पर्यो।हिजोका दिनमा हामी कहाँ पढाई थिएन्न, प्रबिधि थिएन्न। आजको दिनमा यतिका विश्वविद्यालयहरुका उत्पादनलाई मिडियामा खपत नगराउने हो भने त विश्वविद्यालयहरु  कहाँ जाने भन्नुस त!

७। वर्तमानमा नेपाली पत्रकारको व्यवसायिक क्षमतालाई कसरी हेर्नुहुन्छ?

क्षमता बढदै गएको छ। म बिगत एक दशकदेखि पत्रकारिताको प्राध्यापनमा र अनुसँधानमा पनि सँलग्न छु। पछिल्लो पाँच बर्षको मुल्याङ्कन गर्ने हो भने युवा पिढीको प्रबेश; खाश गरि सम्बन्धित बिषयको अध्ययन गरेका पत्रकारहरुको प्रवेशका कारणले नेपाली मिडियामा प्रशस्त स्टामिना, शक्ति, र सृजनशिल्ता बढदै गएको छ।र, यसलाई उपलब्धीमुलक मान्नु पर्छ। फेरी अब मिडियालई पुर्ण रुपमा समाजप्रति उत्तरदायित्व बनाउनका लागि मुख्य भुमिका लगानीकर्ता र सरकारले खेल्नु पर्ने हो

८। मोफशलमा गरिने पत्रकारिता र केन्द्रमा गरिने पत्रकारिताबीच कस्तो भिन्नता पाँउनुहुन्छ? मोफशलको पत्रकारितालाई सदैब कमशल स्तरको भयो भन्ने आंकलन किन गरिन्छ?

धेरै भिन्नता छ।क्षमता, प्रदर्शन,बजार, बिज्ञापन, समाचार सामग्रीको उत्पादन र परफरमेन्सको हिसाबबाट धेरै भिन्नता छ।मोफसलको बजार सानो हुन्छ, स्थानिय स्तरको हुन्छ।मोफसलमा बिज्ञापन कम हुन्छन।कलकारखानाको बिकास नभएको र बिज्ञापन दाताको कमि हिसाबबाट हेर्ने हो भने मोफसलका मिडियाको “सस्टेनिबिलिटी” माथी प्रश्न उठन सक्छ।स्थानिय स्तरका मुद्धा, जीबिकोपार्जन र बिकासका एजेन्डालाई मिडियाले बढि उठान गरेको मैले देख्दैछु।काठमाडौं भन्दा बाहिरका लाई हामीले जबर्जस्त तरिकाले मोफसल भनिदिएको हो।अब जनकपुरका लाहि काठमाडौं पनि मोफसल नै हो।मोफसललाई कम आंकलन गर्न मिल्दैन, कभरेज र बजारको कारण तिनीहरु अलि छाँयामा परेका हुन।

९। तपाईंले पत्रकारितासम्बन्धी कैयन पुस्तक प्रकाशित गरि सक्नु भएको छ। नेपालबाट प्रकाशित हुने पत्रकारिताका पुस्तक र बिदेशबाट प्रकाशित हुने पुस्तकबीच कस्तो भिन्नता पाँउनु हुन्छ? नेपाली पुस्तक गुणस्तरिय हुन्न भन्ने आरोप कतिको सत्य हो?

नेपाली लेखकले लेखेका किताबमा नेपालीपन र स्थानिय ज्ञान झल्किन्छ।बिदेशी लेखकहरुको किताबमा अलिकति गुणस्तर हुनुको कारण चाँहि त्याँहा अलिकति शोधमा बढि जोड दिईएको हुन्छ।हाम्रा लेखकहरु नेपाली परिवेशमा लेख्ने, परम्परागत मान्यता भन्दा बाहिर आउन नसक्ने र अन्तर्रास्ट्रियकरण गर्न नसक्ने अबस्थामा छन्।नेपालबाट प्रकाशित हुने पुस्तकको बजार चाँहि नेपाल भरी मात्रै हो भन्ने मानसिक्ताबाट लेखकहरु ग्रसित छन्।पछिल्लो समयमा प्रकाशित भएका पुस्तकहरुले बिद्यार्थीहरुलाई ज्ञान आर्जन र शिप बिकास गर्नका लागि सहज बनाई दिएको छ र बजारमा पुस्तकको स्वस्थ प्रतिस्पर्धा बढेकोले नेपाली पुस्तक गुणस्तरिय हुन्छन भने प्रमाणित गर्दछ।अनुसन्धानमै आधारित भएर हामी कहाँ किताब लेखन भई रहेको छैन, एउटा लेखकले नै व्यक्तिगत तवरबाट कति लगानी गर्ने? अनुसँधान चाँहि संस्थागत हुन सकेको छैन, प्रकाशकहरुले पनि साधन स्रोत जुटाउन नसकेको अबस्था छ।

 १०। नेपाली मिडिया आवाज बीहिनको आवाज बन्न नसक्नुको कारण के हो? नेपाली मिडिया राजनीतिक दलको आग्रहबाट ओतप्रोत हुनु कुन हदसम्म ठिक हो त?

नेपालमा चाँहि पत्रकारितालाई अभिव्यक्ति स्वतन्त्रताको हक पनि भन्छ, म चाँहि त्यसमा त्यति सहमत छैन।अभिव्यक्ति स्वतन्त्रता पत्रकारिता मार्फत मात्र गर्ने होईन।वकालत, राजनीति गर्नु पनि अभिव्यक्ति स्वतन्त्रता नै हो।पत्रतकारितालाई आवाज बिहिनको आवाज भन्न त सक्छौ तर पत्रकारिता नितान्त अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने माध्यमको रुपमा मान्न सकिंदैन। अभिव्यक्ति स्वतन्त्रताकै कारणले पनि पत्रकारहरु कहिलेकाँहि पत्रकारिताभन्दा बढि काम गररिदिन छन, राजनीति गरिदिन्छन।राजनीतिक दलको मुखपत्रको रुपमा काम गरिदिन्छन्।निश्चित सिद्धान्तलाई अंगालेर जब पत्रकारहरु पत्रकारिता गर्छन, तब उ पत्रकारिता गर्दैन, मिसनमा जान्छ।मिसनमा गई सकेपछि पत्रकारितालाई पर्बर्धनात्मक साधनको रुपमा पत्रकारितालाई प्रयोग गरिन्छ।राजनीतिक प्रबर्धनात्मक किसिमको पत्रकारिता चाँहि गर्न पाउनु हुन्छ, कानुनी रुपले पनि।तर व्यवसायिक हो कि होईन भन्ने प्रश्न चिन्ह चाँहि उठिरहन्छ।पछिल्लो समयमा पत्रकारहरुको व्यवसायिक्तामा प्रश्न चिन्ह उठनुको कारण चाँहि पत्रकारहरुको राजनीतिक आबद्धता हो।बिचारको राजनीतिमा मात्र केन्द्रित नभएर समाजप्रतिको उत्तरदायित्व र व्यवसायिक्तालाई बढाँउदै लैजाने हो भने नेपाली मिडिया “आवाज बीहिनको आवाज” बन्न बेर लाग्दैन।

११। राष्ट्रिय स्तरका भनिने मिडियाले मधेशका सवाल र सँस्कृतिलाई उचित ठाँउ नदिनुको कारण के होला? के नेपाली मिडिया सम्प्रदाय बिषेश हो त?  

मिडियालाई समप्रदाय बिशेष चाँहि बनाईनु हुँदैन।ती सब चाँहि लगानीकर्ताको रुचिमा भर पर्छ।नेपालको पत्रकारिता अभाव, दबाब र प्रभावमा बाँचि रहेको छ।पत्रकारले समयमा तलब पाँउदैन्न त्यो अभाव भो, दबाब राजनीतिक दल र शक्ति केन्द्रहरुबाट छ, र कुनै निश्चित व्यक्ति, संस्था, नीति, समुदाय र सिद्धान्तबाट प्रभावित छ-नेपाली पत्रकारिता।हामी मान्छेबाट प्रभावित छौ, कसैको छहारी मुनी बाँच्न चाह्न्छौं। छहारीमा बाँच्न थाले पछि त्यसको प्रशंसा गरिदिन्छौं।यी सब कारणले सीमान्तकृत वर्गले आश गरे बमोजीमको समाचार कभरेज नेपाली मिडियामा हुन सकिरहेको छैन।

१२। नेपाली सञ्चार माध्यमले कतिको स्वतन्त्र र निष्पक्ष रिपोर्टिङ गर्छन त? निष्पक्ष रिपोर्टिङ नहुनुको कारण के होला? नेपाली मिडिया सेल्फ सेन्सरसिपबाट ओतप्रोत भएकै हुन त?

नेपाली सेल्फ सेन्सरसिपबाट मुक्त भएको चाँहि छैन।संबाददाताले स्वतन्त्र भई राम्रो मिहिनेत गरि रिपोर्ट बनाएको हुन्छ। तर जब संबाददाताको समाचार समाचारकक्षमा पुग्दा संपादकले त्याँहा चाँहि कैंची लगाउँछ।संपादकले पनि आफ्नो रुचिमा कैंची लगाउदैन, उसकाँहा चाँहि लगानीकर्ताको दबाबको कारण सेन्सरसिप छ।बिज्ञापनको सन्दर्भमा जाने हो भने बिज्ञापनदातासँग संबन्धित समाचार लेखिदैन।नेपालको मिडियाले बिज्ञापनलाई कृपा मान्न थाले। नेपाली सञ्चार माध्यम स्वतन्त्र चाँहि छैन, बजार, बिज्ञापनदाता र शक्ति केन्द्रबाट प्रभावित छन्।

१३। नेपाली मिडियाले नेपाली-नेपालीबीच सहृदयी वातावरन बनाउन कस्तो भुमिका खेल्नु पर्छ?

नेपालका कानुन, मौलिक हक र मानव अधिकारबाट अबगत हुनु जरुरी छ। अन्तरिम संबिधानको धारा १५ को स्पस्ट पालना हुनु पर्यो।धर्म, जाती, समप्रदायबीच खलल पुग्ने खलल समाचार संप्रेशन गर्नु भएन।नेपालको सार्वभौमिक्ता, अखन्डता, एकता र नेपाली-नेपालीबीच सुमधुर समबन्ध बनाउने खाले समाचार संपादकहरुले आफ्नो संपादकिय र समाचारबाट अघि बढाए सहृदयी वातावरण निर्माण गर्न राम्रै भुमिका खेल्न सक्छ।

१४। बर्तमानमा नेपाली मिडियाको एजेन्डा के हुनुपर्छ? मिडियाले एजेन्डा सेट गर्नु कतिको नैतिक हो त ?

मिडियाले संक्रमणकालमा एजेन्डा सेट त गर्छन नै।हाम्रो नेपालको एजेन्डा राजनीतिक हुनु हुँदैन। बिकासका एजेन्डा सेट गरिदियोस, भोकमरीका एजेन्डा सेट गरिदियोस् ।अहिले नेपालमा ३२ लाख नेपालीले बिहान खाए भने बेलुका खान पाँउदैन्न। हामी आर्थिक समृद्धि, बिकासका एजेन्डा, बिभिन्न समुदाय, धर्म, संस्कृति, दमनमा परेका समुहको पहुँच कसरी बढाउने जस्ता एजेन्डा वर्तमानमा हुनुपर्यो।

१५। नेपालको मिडिया कतिको जोखिममा छ?

पत्रकारहरु माथि जसरी अहिले तराईमा हत्या, आक्रमण भईरहेका छन, ती सबै घटना निन्दनीय नै छन्।तर हामीले दुई ओटा पाटोबाट यसलाई हेर्न मिल्छ।पत्रकारहरुले व्यवसायिक संरक्षण पाईराखेका छैन्न।व्यवसायिक सुरक्षाको लागि मिडिया गृह र सरकारले पनि दिर्घलकालिन नीति ल्याउनु पर्यो।पत्रकारको हत्यामा संल्गन व्यक्तिहरुमाथि कारवाहि नहुनुले आक्रमणकारीको हौशला बढेको छ। अर्को तर्फ पत्रकार साथीहरुले पनि मर्यादित, व्यबसायिक र आचार संहिता पालना गर्दै पत्रकारिता गर्नु पर्यो।पत्रकारहरु आक्रमनमा पर्नुमा पत्रकारहरुको पनि राजनैतिक आबद्धता र आग्रह-पुर्वाग्रहका कारण, यस्तो माहोल बन्नुमा उनिहरुको पनि ५०% हिस्सा छ।

१५। द एक्सक्लुसिभ का समग्र पाठकलगायत जनकपुरका पत्रकारलाई के संदेश दिन चाहनुहुन्छ?

जनकपुर नेपालको ऐतिहासिक र सांस्कृतिक स्थल हो । त्यहाँका बासिन्दाको पहिचान, संस्कृति र विकासका मुद्दामा सहभागिता बढाउने तर्फजनकपूरवासी पत्रकार साथीहरूको कलम निरन्तर चलोस । राज्य संयन्त्रमा स्थानीय नागरिकहरूको पहुँच अभिबृद्धि गर्ने, पुर्वाधार र मानव विकासमा सहभागिता बढाउने र आवाजवीहिनहरूको आवाजलाई शसक्त बनाई स्वामित्वबोध गराउने दिशामा जनकपूरका सञ्चारकर्मीहरू सदैव अग्रसर होउन, तपाइको अखवारमार्फ म नववर्ष२०६९ को अवसरमा सवैलाई यही शुभकामना दिन चाहन्छु ।